images

ओलीको दाबीः ‘एमालेले ०८४ मा बहुमत ल्याउँछ ,माओवादी राष्ट्रिय पार्टीसम्ममा अडिएला कि !’

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग ‘मिशन–२०८४’ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन्।

शनिबार एमालेले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग अहिले मिशन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरु छन्। म त्यो आधारहरुको अहिले अहिले धेरै व्याख्या गर्न चाहन्न। आधारहरु छन् हामीसँग। बलिया आधारहरु छन्।’

उनले माओवादी केन्द्र भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले भन्ने जिकिर गरे। माओवादी केन्द्रले विगतका निर्वाचनहरुमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४/५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो।

उनले थपे, ‘माओवादीको १९ लाख भोट कहाँ गयो भन्ने गम्भीर प्रश्न, विश्लेषण थियो, मैले हिजो एउटा पत्रिकामा हेरेको थिएँ। एउटा चुनावमा ३१ लाख भोट आउँछ। अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ। अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ। अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ। अब अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि! राष्ट्रिय पार्टीसम्ममा अडिएला कि?अवस्था त्यो छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण गरे।‘नभएका पार्टी जन्मिए । भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान् नि । खानै जन्मिएकाहरु छन् । अनि तिनका मुखमा चाहिँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि ।’ उनले भने