चाँड पर्वलाइ लक्षित गर्दै बजार अनुगमनमा तिव्रता दिदैँ : भीमसेन थापा गाउँपालिका

गाेरखा, असाेज ९ – चाडवाड नजिकिएसँगै भीमसेन थापा गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । वुधवार तान्द्राङ क्षेत्रका पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘केही पसलमा पालिकाले निषेध गरेको स्याउ, बटारे, करुवा जस्ता कमसल खालका मदिरा बेच्न राखेको भेटियो,’ उनले भने, ‘त्यसलाई तत्काल हटाउन भनेका छौँ ।’

फेरि पनि बेच्न राखेको पाइएमा सामान जफत गरी व्यापारीलाई कारवाही गरिने उनले जानकारी दिए । उनका अनुसार पालिकाले गत बर्षदेखि नै पालिकामा कमसल खालका मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाएको हो । अनुगमनको क्रममा केही पसलमा म्याद नाघेका खाद्य सामग्री समेत भेटिएको अधिकारीले बताए ।

‘ती सामानहरु बेच्ने प्रयोजनका लागि नभई छुट्टै व्यवस्थापन गर्न भनेर प्रारम्भिक चेतावनी दिएका छौँ, भनेका छौँ, अटेर गरेमा सामान जफत पनि गर्छाैँ र कारवाही पनि,’ उनले भने । नविकरण नभएका व्यवसायलाई नविकरण गर्न भनिएको उनले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष अमृतादेवी वस्ती संयोजक रहेको समितिले बजार अनुगमन गरेको हो । नगर प्रहरीहरु समेत अनुगमनमा सहभागी थिए । बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । दराैंदी