
काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए। उनको कार्यकाल सकिन चार महिना मात्र बाँकी हुँदा सरकारले पदबाट हटाएको हो।
घिसिङलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काले पटक पटक प्रयास गर्दै आएका थिए। उनलाई कार्यकारी निर्देशकबाट हटाउनका लागि पाँच पटकसम्म प्रष्टीकरण सोधिएको छ।
कुलमानलाई हटाउन ऊर्जामन्त्री खड्का मरिहत्ते गरेर लागिपरेका थिए। संसददेखि सार्वजनिक मञ्चसम्म उनले आफ्नो पदीय मर्यादा भुलेर कुलमानका विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए।
यसअघि सरकारले घिसिङलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोध्नुअघि ऊर्जा मन्त्रालयले घिसिङलाई कार्यसम्पादनमा शून्य नम्बर दिएको थियो ।