images
images

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा नाम सिफारिस गर्न समिति बनाउने तीन दलबीच सहमति

काठमाडौं- प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्न समिति बनाउने सहमति गरेका छन्।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए।

बैठकपछि सञ्चारकर्मीसँग प्रधानमन्त्रीका सल्लाहकार खरेलले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताए।

‘बैठक शान्ति प्रक्रियाको बाँकी काम अर्थात सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो। केही समयअघि दुईवटै आयोग गठन गर्न गठन गरेको सर्च कमिटीले एउटा प्रतिवेदन पनि दिएको थियो। त्यो प्रतिवेदन पनि त्यहाँ राखियो र त्यस प्रतिवेदनअनुसार मिलेर अगाडि जाने कुरामा विगतमा जस्तै छलफल गर्नुभयो‚’ उनले भने, ‘र त्यसमा हामी आज एउटा निष्कर्षमा पुगेका छौँ। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३(३)को बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीज्यूले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श बमोजिम अब सिफारिस प्रक्रिया अगाडि बढ्छ।’

बैठकमा प्रमुख ३ दलका शीर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी रहेका थिए।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन।

उक्त समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध थियो ।