images
images

इरानमा नियन्त्रणमा परेका नेपाली युवा अमृत झा मुक्त: स्वदेश फर्काउने तयारी सुरु

काठमाडौं- इरानमा विगत केही समयदेखि नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा अन्ततः मुक्त भएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार इरानी अधिकारीहरूको नियन्त्रणमा रहेका झालाई रिहा गरिएको हो।

मन्त्री खनालका अनुसार झाको रिहाइपछि उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन कूटनीतिक पहलहरू तीव्र पारिएको छ।

हाल इरानका लागि नेपालको मानार्थ महावाणिज्यदूतको कार्यालय र कतारस्थित नेपाली दूतावास झाले निरन्तर सम्पर्कमा रहेका छन्। उनीहरूले झाको अवस्था र आवश्यक कानुनी प्रक्रियाका बारेमा समन्वय गरिरहेका छन्।

उदयपुरका स्थायी बासिन्दा ३३ वर्षीय झा दुबईको एक सिपिङ कम्पनीमा कार्यरत थिए। इन्धन ढुवानी गर्ने क्रममा इरानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो।

उनको रिहाइका लागि नेपाल सरकार र परिवारले लामो समयदेखि पहल गर्दै आएका थिए। मन्त्री खनालले हाम्रो सरकारी टोली उनलाई इरानबाट बाहिर निकाल्न र सकुशल घर फर्काउन सक्रियताका साथ लागिपरेको बताएका छन्।