काठमाडौं – नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका निम्ति आवेदन खुलेको छ । अर्थ मन्त्रालयले मंगलबार (वैशाख १५) सूचना जारी गर्दै बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका निम्ति आवेदन माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेस गर्न भनिएको छ ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल छन् ।
प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र छलफलपछि सिफारिस समितिले तीन उमेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरी धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने छ ।








