images
images

मलेसिया पठाइने श्रमिकको रकम हिनामिना प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं – मलेसिया जाने नेपाली श्रमिकको रकम हिनामिना तथा ठगी गरेको आरोपमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, श्रम व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको तथा श्रमिकको हितविपरीत कार्य भएको विषयमा अनुसन्धान भइरहेको छ ।

उक्त प्रकरणमा अमेरिकी डलर ६३ लाख ५० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख ६७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोप छ ।

सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर मंगलबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

 

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।