काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले समग्रमा ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख नाफा आर्जन गरेको थिए ।
ब्याज खर्च घटेको कारण बैंकको खुद ब्याज आम्दानी बढेको छ। साथै, केही बैंकहरुको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा कम छ । त्यसैले पनि नाफाका सुधार आएको हो ।
रिपोर्ट अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि रहेको छ । यसले ९ महिनामा ६ अर्ब ७६ करोड नाफा कमाएको छ । त्यसपछि, ग्लोबल आइएमईले ४ अर्ब ४० करोड, कुमारीले ४ अर्ब १७ करोड, एभरेष्ट बैंकले ३ अब ३२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब १४ करोड, प्राइम कमर्सियलले ३ अर्ब ८ करोड नाफा कमाएको छ ।
त्यसैगरी, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबिले २ अर्ब ६८ करोड, सानिमाले २ अर्ब ३५ करोड, स्टान्डर्ड चार्टर्डले २ अर्ब ८ करोड, लक्ष्मी सनराइजले २ अर्ब ३ करोड र सिद्दार्थ बैंकले भने २ अर्ब १ करोड नाफा कमाएको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड, नेपाल एसबीआईले १ अर्ब ४६ करोड, कृषि विकासले १ अर्ब ३९ करोड, सिटिजन्स बैंकले १ अर्ब ३० करोड नाफा कमाएको छ ।
बाँकी बैंकहरुले भने १ अर्ब भन्दा कम नाफा कमाएका छन् । प्रभुले ८५ करोड १५ लाख, हिमालयनले ७६ करोड २५ लाख र एनआइसी एसियाले सबैभन्दा कम १४ करोड ३ लाख नाफा कमाएको छ । यता, ७ वटा बैंकहरुको नाफा भने गत वर्षको तुलनामा घटेको छ ।









