हुम्ला – कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्। नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा स्थायी निवासी हुन्।
संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ।
संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्ता दिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरणसमेत गरेका थिए।
खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेशसभा सचिवमा नियुक्त गरेकी हुन्। नवनियुक्त सचिव खड्काले मंगलबार नै पद तथा गोपनियताको शपथ लिएका छन्।








