images
images

विकासको नयाँ परिभाषातर्फ विश्व समुदाय : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वका देशहरूको विकासलाई अझ समावेशी, सन्तुलित तथा दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी प्रस्ताव गरेको छ।

उक्त प्रस्तावले कुल गार्हस्थ उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता तथा वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ।

मानिस र पृथ्वीका लागि प्रगतिको दिशा देखाउने मापन’ नामक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वतन्त्र उच्चस्तरीय विज्ञ समूहद्वारा सार्वजनिक गरिएको हो।

प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय तथा वातावरणीय दिगोपनलाई समान महत्व दिइएको छ।

महासचिव गुटेरेसले कुल गार्हस्थ उत्पादन आर्थिक प्रगतिको महत्वपूर्ण सूचक भए पनि यसले समाजको सम्पूर्ण अवस्था पूर्ण रूपमा प्रतिबिम्बित गर्न नसक्ने उल्लेख गरेका छन्।

उनले असमानता, गरिबी, स्वास्थ्य, शिक्षा, शान्ति तथा वातावरणीय संरक्षणजस्ता विषयलाई विकास मूल्यांकनमा सम्मानपूर्वक समावेश गर्न आवश्यक रहेको बताउनुभएको छ।

संयुक्त राष्ट्र महासभाकी अध्यक्ष एनालेना बेयरबोकका अनुसार प्रस्तावित सूचक पटलमा ३१ वटा सूचक समावेश गरिएको छ, जसले आर्थिक, सामाजिक तथा वातावरणीय अवस्थाको विस्तृत र सन्तुलित चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै, विपद् तथा सङ्कट सामना गर्ने समाजको क्षमतासमेत यसमा समेटिएको छ।

विज्ञ समूहकी सह–अध्यक्ष नोरा लस्टिगले कुल गार्हस्थ उत्पादनले असमानता, गरिबी तथा वातावरणीय क्षतिजस्ता संवेदनशील पक्षलाई पर्याप्त रूपमा समेट्न नसक्ने धारणा व्यक्त गरेका छन्। अर्का सह–अध्यक्ष कौशिक बसुले विकास भनेको केवल आर्थिक वृद्धि मात्र नभई शिक्षा, स्वास्थ्य, कला, संस्कृति तथा नागरिकको जीवनस्तरमा सकारात्मक सुधार पनि भएको उल्लेख गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लामो समयदेखि कुल गार्हस्थ उत्पादन नीति निर्माणको प्रमुख आधारका रूपमा प्रयोग हुँदै आएको छ। तर केवल यसैमा निर्भर हुँदा अर्थतन्त्र वृद्धि भए पनि वातावरण, सुरक्षा तथा जनजीवनको गुणस्तरमा असर पर्न सक्ने सम्भावना रहने बताइएको छ।

यो प्रतिवेदनले सरकारहरूलाई समावेशी विकास, दिगोपन तथा जनकल्याणलाई प्राथमिकता दिँदै प्रभावकारी नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

साथै, विकासलाई केवल आर्थिक उपलब्धिमा सीमित नराखी मानव जीवनको गुणस्तर र प्रकृतिको संरक्षणसँग जोडेर हेर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले औँल्याएको छ।रासस