काठमाडौँ– बेइजिङ भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिलाई चिनिया राष्ट्रपति सी-जीनपिङले औपचारिक स्वागत गरेका छन्। ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गर्दै सी ले अमेरिका र चिन एक अर्काका प्रतिद्वन्दी नभई साझेदार भएको बताएका छन्।
बेइजिङमा अमेरिकी समकक्षीसँग उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका साझेदारका रुपमा अघि बढ्नु पर्ने बताएका हुन्। जवाफमा राष्ट्रपति ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै दुई महाशक्तिबीचको सम्बन्ध ‘पहिलेभन्दा अझ राम्रो’ हुने विश्वास ब्यक्त गरे।
केही समयपछि सुरु हुने द्विपक्षीय वार्तामा भन्सार शुल्क (ट्यारिफ), प्रविधिमा प्रतिस्पर्धा, इरान युद्ध र ताइवानजस्ता जटिल तथा संवेदनशील विषयहरू उठ्ने सम्भावना रहेको छ।
भेटवार्ताअघि बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिर रातो कार्पेटमा सीले ट्रम्पसँग हात मिलाएका थिए। त्यहाँ उनीहरूलाई बालबालिकाले स्वागत गरेका थिए भने दुवै नेताले सैनिक टोलीको निरीक्षण पनि गरेका थिए।
ट्रम्पसँगै बेइजिङ पुगेका प्रविधि क्षेत्रका चर्चित व्यवसायीहरूमा टेस्लाका इलोन मस्क र एनभिडियाका जेन्सेन हुआङ पनि ट्रम्पसँगै साथमा छन्। चीन प्रस्थान गर्नुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनलाई ‘अझ खुला बनाउन’ आग्रह गर्ने बताए।
सन् २०१७ मा चीन भ्रमण गर्ने अन्तिम अमेरिकी राष्ट्रपति रहेका ट्रम्प अहिले अझ शक्तिशाली र आत्मविश्वासी देखिएको चीनमा फर्किँदै गर्दा अहिले विश्व युद्धले आक्रान्त बनिरहेको छ।
दुवै नेताले आज साँझ राजकीय भोजमा पनि सहभागी हुने कार्यतालिका रहेको छ।








