images
images

पुटिनलाई व्यंग्यात्मक पत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष भेटघाटको आह्वान

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रत्यक्ष भेटवार्ताको आह्वान गरेका छन्।

रुसी राष्ट्रपतिलाई लेखिएको एक खुला पत्रमा जेलेन्स्कीले युरोपमा चलिरहेको युद्ध फेरि अमेरिकाको मुख्य ध्यानको विषय बन्ने प्रतीक्षा मात्र गर्नु गलत हुने भन्दै शान्ति केवल युक्रेन र रूसबीचको प्रत्यक्ष संवादमार्फत मात्र सम्भव हुने उल्लेख गरेका छन्।

उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आग्रह गरे। तर पुटिनले यसअघि नै यस्तो प्रस्ताव अस्वीकार गरिसकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो दुवै नेताबीच भेट भए अत्यन्त राम्रो हुने बताएका थिए। क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई त्यसबारे जानकारी गराइने जनाएको छ।

पत्रको शैली चुनौतीपूर्ण र केही हदसम्म व्यंग्यात्मक थियो, जसमा युक्रेनले हालै रुसी भूमिमा गरेको आक्रमणतर्फ ध्यानाकर्षण गरिएको छ। जेलेन्स्कीले लेखेका छन्, ’सत्तामा २६ वर्ष बितिसकेपछि उमेरले पुटिनमाथि असर गर्न थालेको छ।’

पत्रमा भेटवार्ताको निम्तो पनि समावेश गरिएको छ। ‘युक्रेन यो युद्ध तपाईं र हामीबीचको प्रत्यक्ष संवादमार्फत अन्त्य गर्न प्रस्ताव गर्दछ। म भेटवार्ताको प्रस्ताव राख्दैछु’ जेलेन्स्कीले पत्रमा लेखेका छ्।  रूसले सन् २०१४ मा क्रिमिया गाभेको आठ वर्षपछि, अर्थात् सन् २०२२ मा यी दुई देशबीच पूर्ण युद्ध सुरु भएको थियो।