images
images

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन

कक्रोच जनता पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा विशाल प्रदर्शन गरेको छ।

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा शनिबार ५ घण्टासम्म प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागी हुन अभिजीत शनिबार बिहान मात्रै अमेरिकाबाट दिल्ली पुगेका थिए। उनी विमानस्थलबाट सिधै जन्तरमन्तर पुगेका थिए।

विरोध सभालाई सम्बोधन गर्दै अभिजीतले शिक्षामन्त्री प्रधानलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिएका छन्। उक्त समयभित्र राजीनामा नआए देशभर प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन्।

प्रदर्शनमा हजारौँ युवा सहभागी भएका थिए। यस विरोध प्रदर्शनमा प्रख्यात सामाजिक अभियन्ता सोनम वाङचुक पनि सहभागी थिए। आगामी शनिबार (जुन १३) जन्तर-मन्तरमा पुनः प्रदर्शन गरिने पार्टीले जनाएको छ।

नीट (NEET)को प्रश्नपत्र बाहिरएको घटनालाई लिएर शिक्षामन्त्रीको राजीनामा माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन्। नीट भारतमा हुने एक राष्ट्रिय स्तरको प्रवेश परीक्षा हो। मेडिकल क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीले यो परीक्षा पास गर्नु अनिवार्य हुन्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनलाई लक्षित गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको थियो।