काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरूसमेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताएका हुन्।
उनले भने, ‘विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरुको कब्जामा थियो। स्वार्थ समूहहरूले देशलाई क्याप्चर गरेका थिए। पोलिटिसियनहरू उनीहरूको गोजीमा थिए। राज्यका अन्य अंगहरूसमेत उनीहरूको प्रभावमा थिए। त्यसलाई हामी तोड्दै छौँ।’
उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे। उनले सरकार अहिले मुलुकको अर्थ व्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए। मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्ने गरी सरकार अघि बढिरहेको उनको दाबी छ।
उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ। १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ। यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ। त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा ‘क्लिन अफ दि मेस’ सुरु गरेका छौँ।’
मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उनको भनाइ छ।









