images
images

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरू सहयोग गरेको छ।

बैंकले जिल्ला प्रहरी कार्यालय (घोराही–दाङ), जिल्ला प्रहरी कार्यालय (धादिङ), बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र झापाको जिल्ला प्रहरी कार्यालय (काँकरभिट्टा) लाई कम्प्युटर, फर्निचर तथा अन्य कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ। यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय (गुलरिया, बर्दिया) लाई सडक डिभाइडर तथा सचेतनामूलक बोर्डहरू सहयोग स्वरूप प्रदान गरिएको बैंकले जनाएको छ।

उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।