images
images

राष्ट्र बैंकले ल्यायो ५०० दरका नयाँ नोट चलनचल्तीमा

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले बुधबारदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन्।

राष्ट्र बैंकले संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ। नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन्। यहाँ प्रयोग भएका संकेतहरू: झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन्।

यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो। यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।

यस्ता छन् नयाँ नोटका विशेषता

नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ।

साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन्।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ। साथै ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ।

नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ।

नोटको तल्लो खण्डमा RUPEES FIVE HUNDRED र सिरिज नम्बर 2025 AD लेखिएको छ।