काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६ वटा महानगरपालिकाले बुधबार सार्वजनिक गरेका छन् । सबै महानगरपालिकाको गरी ३७ अर्ब ९५ करोड ७६ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएका छन् । केही महानगरले असार पहिलो साता बजेट ल्याए पनि केही महानगरले बुधबार बजेट ल्याएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ बमोजिम हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको बजेट गाउँ वा नगर सभामा पेश गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको छ।
आगामी आवको बजेटमध्ये सबैभन्दा बढी काठमाडौं महानगरले ल्याएको छ भने सबैभन्दा कम विराटनगर महानगरले ल्याएको छ। काठमाडौंले अगामी आवका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ।
जसमध्ये काठमाडौंको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ।
यस्तै, ललितपुर महानगरले आगामी आवका लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरले प्रस्तुत गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालू खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ।
महानगरले चालू खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ (९ प्रतिशत) ले बढी हो। कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्वका कारण चालू खर्च बढेको महानगरले जनाएको छ।
वीरगञ्ज महानगरले आगामी आवका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। आगामी आवको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४।३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४।६ प्रतिशत हो। यस्तै, वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १।१ प्रतिशत रहेको उल्लेख छ।
यस्तै, पोखरा महानगरले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ। कुल बजेटको पुँजिगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेटको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख समानिकण अनुदान ४९ करोड ३७ लाख गरी वित्तिय हस्तान्तणको ३ अर्ब १८ करोड ६० रहेको छ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३ /८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज यहाँ सार्वजनिक गरेको छ ।
नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिएकी हुन् । सार्वजनिक भएको बजेटमा सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ लाख, सशर्त अनुदान चालुतर्फ रु ७३ करोड २९ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु ५६ लाख गरी सङ्घीय सरकारबाट रु एक अर्ब सात करोड २८ लाख अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरिएको छ ।
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भक्तपुर नगरपालिकाको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को अनुमानित आय/व्यय बजेट प्रस्तुत गर्दै उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३/८४ का लागि २ अर्ब ५५ करोडको बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले बताइन् ।







