images
images

अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग गरे विवाह

भारतीय अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग विवाह गरेका छन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका र करिब २५ वर्षदेखि एकअर्कालाई चिन्दै आएका यो जोडीले शनिबार (जुलाई ५) मुम्बईस्थित आमिरको घरमा परिवारका सदस्य र निकट मित्रहरूको उपस्थितिमा सामान्य विवाह गरेको जनाइएको छ।

पछिल्ला केही दिनदेखि मुम्बईमा लगातार भारी वर्षा भइरहे पनि त्यसले विवाहको तयारी वा अतिथिहरूको उपस्थितिमा कुनै असर पारेन। आमिरको बान्द्रास्थित निवासमा आयोजित विवाह समारोहमा उनका तीन सन्तान तथा गौरीका छोरा पनि सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समारोहमा परिवार र निकट साथीहरू गरी करिब १५० जना सहभागी भएका थिए, जसमध्ये केही पाहुना विदेशबाट पनि आएका थिए।

वर्षाबीच पनि जारी रह्यो तयारी

शनिबार मुम्बईमा मुसलधारे वर्षा भइरहेका बेला पनि आमिरको घरमा विवाहको तयारी तीव्र रूपमा अघि बढेको थियो। पाली हिलस्थित उनको निवासमा कार्यक्रम व्यवस्थापक र कामदारहरूले सजावट, बत्ती जडान तथा अन्य तयारी गरिरहेका दृश्य सार्वजनिक भएका थिए। घरलाई आकर्षक बत्ती र उत्सवमय सजावटले सिंगारिएको थियो। वर्षाका बीच कामदारहरू रेनकोट लगाएर तयारीमा व्यस्त देखिएका थिए भने आमिरकी दिदी विवाहको एक दिनअघि नै घर पुगेकी थिइन्।

आमिरको तेस्रो विवाह

आमिरले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग गरेका थिए। उनीहरूका दुई सन्तान जुनाइद खान र इरा खान रहेका छन्। सन् २००२ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

त्यसपछि उनले सन् २००५ मा फिल्म निर्माता किरन रावसँग सँग विवाह गरे। सरोगेसीमार्फत जन्मिएका छोरा आजाद राव खानका बाबुआमा बनेका उनीहरूले सन् २०२१ मा अलग हुने घोषणा गरेका थिए।

सन् २०२५ मार्चमा आफ्नो ६०औँ जन्मदिनका अवसरमा आमिरले गौरी स्प्राटसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। त्यसयता उनीहरूले आफ्नो व्यक्तिगत सम्बन्धलाई अधिकांश समय सार्वजनिक चर्चा बाहिर नै राखेका थिए।

विवाहअघि नै गरेका थिए पुष्टि

निर्देशक राजकुमार हिरानीको प्रितम एन्ड पेड्रो शृंखलाको विशेष प्रदर्शनका क्रममा आमिरले जुलाई ५ मा विवाह हुने पुष्टि गरेका थिए। उनले भनेका थिए, ‘जुलाई ५ मा हाम्रो विवाह हुँदै छ। घरमै सानो र पारिवारिक समारोह गर्दैछौं। यो मिति हाम्रो लागि निकै विशेष छ। दुवै परिवार र केही नजिकका साथीहरू मात्र सहभागी हुने छन्।’

उनले सबैसँग शुभकामना माग्दै भनेका थिए, ‘हामीलाई खुसी रहन सबैको आशीर्वाद चाहिएको छ। हाम्रो वैवाहिक यात्रा सुखद् रहोस् भन्ने प्रार्थना गर्नुहोस्। यो एकदमै सानो, आत्मीय र पारिवारिक समारोह हो।’