images
images

प्रधानमन्त्री–निजी क्षेत्र संवाद ‘आइसब्रेक’, सरकार निजी क्षेत्रलाई अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा राखेर अघि बढ्छ : दीपक मल्होत्रा

काठमाडौं – प्रधानमन्त्रीसँग निजी क्षेत्रका तीन ठूला छाता सङ्गठनका प्रतिनिधिबीच भएको करिब दुई घण्टाको संवाद सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्ने ‘आइसब्रेक’ भएको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बताएका छन्।

प्रधानमन्त्रीको कार्यकक्षमा बुधबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सबाट अध्यक्षसहित दुई–दुई जना पदाधिकारी सहभागी थिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि निजी क्षेत्रसँग शाहले गरेको यो पहिलो औपचारिक संवाद हो।

मल्होत्राका अनुसार भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा राखेर सरकार अघि बढ्ने स्पष्ट सन्देश दिएका थिए। उनले आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेटमा निजी क्षेत्रका प्रतिनिधिहरूले केही उद्योगी–व्यवसायीमाथि भइरहेको अनुसन्धान र हिरासतका घटनाका कारण व्यवसायीमा त्रासको वातावरण बनेको तथा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको विषय उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान आफ्नो ठाउँमा रहे पनि सरकारले समग्र निजी क्षेत्रलाई सकारात्मक रूपमा हेरेको र लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताएका थिए।

मल्होत्राले प्रधानमन्त्रीबाट निजी क्षेत्रका सुझाव सुन्ने र नियमित संवादलाई निरन्तरता दिने प्रतिबद्धता आएको बताए। प्रधानमन्त्रीले छलफलमा उठेका विषयलाई बुँदागत रूपमा तयार गरेर बुझाउन समेत आग्रह गरेका थिए।

छलफलमा पुँजी बजारका विषयले पनि प्राथमिकता पाएको थियो। शेयर बजारको लागत न्यूनीकरण, बजारलाई थप चलायमान बनाउने, वास्तविक लगानीकर्तामैत्री वातावरण निर्माण गर्ने तथा अनावश्यक सट्टेबाजी नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल भएको मल्होत्राले जानकारी दिए। साथै विगतका मौद्रिक नीतिको प्रभाव, अर्थतन्त्रका चुनौती र बजार सुधारका उपायबारे समेत विचार आदान–प्रदान भएको थियो।

उनका अनुसार बैठकमा सहभागी सबै प्रतिनिधि उत्साहित देखिएका थिए। “यो भेट सरकार र निजी क्षेत्रबीच विश्वास बढाउने एउटा आइसब्रेकका रूपमा रह्यो,” उनले भने।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा सांसद विदुषी राणा सहभागी थिए।