images
images

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

वासिङ्टन- अमेरिका–इरानबीचको युद्धविराम अब समाप्त भइसकेको तर इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्क्रबार बताउनुभएको छ ।

अमेरिका र इरानबीच बढ्दै गएको तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, “अमेरिका–इरानबीच लागू युद्धविराम अब समाप्त भइसकेको छ तर इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी यसका लागि तयार छौँ ।”

डोनाल्ड ट्रम्पले आफ्नो हस्ताक्षरसहित सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्नुभएको सन्देशमा भनिएको छ, “इस्लामिक रिपब्लिक अफ ईरानले हामीसँग कुराकानी जारी राख्न अनुरोध गरेको छ। हामी यसका लागि सहमत छौं, तर हामीले उनीहरूलाई स्पष्ट शब्दमा बताइसकेका छौं कि युद्धविराम अब समाप्त भयो।”

अमेरिका र ईरानबीच यो तनाव अचानक बढेको होइन। पछिल्लो केही समयमा दुवै देशबीच एक अन्तरिम युद्धविराम सम्झौता भएको थियो।

यसअन्तर्गत दुवै देशले शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूमाथि हमला रोक्नुपर्ने उल्लेख थियो।

तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि फेरि बमबारी सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सम्झौताको उल्लङ्घन र युद्धविराम समाप्त भएको सङ्केत भन्नुभएको छ।

आक्रमण

यो उक्साहटको जवाफमा अमेरिकी सेनाले पछिल्ला दुई दिनमा इरानमाथि ठूला हवाई हमला गरेको छ । अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य ठाउँ, मिसाइल भण्डार र बुशहर परमाणु संयन्त्र नजिकका क्षेत्रहरूलाई निशाना बनाएको छ । यी हमलाहरूमा इरानका १४ सैनिकको मृत्यु भएको छ र धेरै घाइते भएका बताइएको छ ।

आफूमाथि भएको हमलाबाट रुष्ट भएर इरानले पनि कडा रवैया अपनाएको छ। उसले कतार, कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि दर्जनौं ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

इरानको भनाइ छ, “यदि अमेरिकाले हमला गर्छ भने उसले पनि जवाफी कारबाही सहनुपर्नेछ। यो बदलाको भावना र दुवैतर्फबाट निरन्तर भइरहेका हमलाका कारण दुई देशबीचको शान्ति सम्झौता पूर्ण रूपमा टुटिसकेको छ र अब पश्चिम एशियामा ठूलो युद्धको सम्भावना देखिएको छ। यद्यपि, ट्रम्पको यो भनाइमा कुराकानीको सम्भावना अझै बाँकी रहेको सङ्केत पाइन्छ । (रासस/एएफपी)