काठमाडौं, असार २७ — ठमेल पर्यटन विकास परिषद्को कार्यकारी समिति निर्वाचन–२०८३ सम्पन्न भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार राजुमान डंगोल अध्यक्षमा निर्वाचित भएका छन्। उनले ७२८ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीलाई पराजित गरेका हुन्।
प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाड तामाङ तथा तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित भएका छन्। तृतीय उपाध्यक्ष पदमा रमेश थापा निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल (मिलन) तथा कोषाध्यक्षमा किन्चु लामा भुटिया (श्रेष्ठ) निर्वाचित भएका छन्।
सदस्य पदमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईं र चन्द्र तामाङ निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत हरिप्रसाद पौडेलका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। मतगणनापछि अन्तिम परिणाम सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।








