images
images

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौँ –कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र अपुष्ट सूचनाबाट सचेत रहन अनुरोध गरेको हो।

दूतावासले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना, अफवाह वा असत्य सामग्रीको प्रसार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ। साथै, सम्बन्धित मुलुकको कानुन तथा सरकारी निर्देशन विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।

कुवेत सरकारका सुरक्षा सम्बन्धी सूचनाहरूको पालना गर्न आग्रह गर्दै दूतावासले सम्भावित हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो खिचेर सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ।

सुरक्षा जोखिम देखिएको अवस्थामा अपरिचित वा शंकास्पद वस्तुबाट टाढा रहन, आपत्कालीन साइरन बजेको समयमा खुला स्थानमा भए नजिकको सुरक्षित भवनमा प्रवेश गर्न तथा भवनभित्र रहँदा झ्याल, सिसा र बार्दली आसपास नबस्न भनिएको छ।

दूतावासले आवश्यक परेमा कन्सुलर सेवा तथा अन्य सहयोगका लागि नेपाली नागरिकलाई राजदूतावाससँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गरेको छ। पछिल्लो संवेदनशील परिस्थितिमा संयमता अपनाउँदै स्थानीय प्रशासनका निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।