काठमाडौँ- नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ।
स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल ‘विश्वास’ धड्किरहेको र यो नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको बताएका छन्।
उनले नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह भएको दाबी गरे, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ।
‘एनबैंक’ (nBank) एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले नवप्रवर्तन नबिलको डीएनएमा रहेको स्पष्ट पारे।
अध्यक्ष चौधरीले बैंक बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा प्रवेश गरेको घोषणा समेत गरेका छन्।
एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन र ग्राहकको वित्तीय अनुभवलाई पुनःपरिभाषित गरिरहेको भन्दै उनले एनबैंकको अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिने जानकारी दिए।
यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन र मजबुत सुरक्षा प्रणालीको विकास हुने भए तापनि बैंकको मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिने उनको भनाइ थियो।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ
कर्मचारीको निष्ठाका कारण गौरवमय उचाइसम्म आइपुगेको बताए। ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको उनले जानकारी दिए।
बैंकले हालसम्म कृषि क्षेत्रमा रु. ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा रु. ५१ अर्ब ६ करोड, एमएसएमई (MSMEs) मा रु. ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा रु. ११ अर्ब १० करोड कर्जा लगानी गरिसकेको छ।
४२ वर्षको अवधिमा बैंकले प्रमुख वित्तीय सूचकांकमा अभूतपूर्व प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०४१/४२ मा कुल नेटवर्थ रु. २ करोड ८० लाख र खुद नाफा रु. १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ रु. ७० अर्ब ८३ करोड र खुद नाफा रु. ६ अर्ब ७६ करोड पुगेको छ।
त्यस्तै, सुरुआती चरणमा रु. १४ करोड ६० लाख मात्र रहेको निक्षेप संकलन बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड तथा कर्जा प्रवाह रु. १३ करोड ३० लाखबाट बढेर रु. ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ।
२ शाखा र १४४ कर्मचारीबाट सुरु भएको सेवा सञ्जाल अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ दक्ष कर्मचारीहरूसम्म विस्तार भई २६ लाखभन्दा बढी ग्राहकहरू पुगेका छन्।
यो ऐतिहासिक वार्षिकोत्सवलाई उत्सवमय बनाउन नबिल बैंकले ४२ दिन लामो विशेष प्रवर्द्धनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका योजनाहरू सार्वजनिक गरेको छ।
जसमा हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि आधार दर (Base Rate) मा मात्र ०.५ प्रतिशत प्रिमियम थप गरी सहुलियतपूर्ण ‘पुनःनिर्माण घर कर्जा योजना’ ल्याइएको छ।
साथै लकर सेक्युरिटी डिपोजिट सुविधामा ४२ प्रतिशत छुट, इपिजी सेवाको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट र क्रेडिट तथा डेबिट कार्डका आवेदन एवं सदस्यता शुल्कमा विभिन्न अफर तथा छुट योजनाहरू समावेश गरिएको बैंकले जनाएको छ।








