images
images

धितोपत्र बजार सुधारका लागि बोर्डद्वारा नौ प्राथमिकताका क्षेत्र सार्वजनिक

काठमाडौँ ।-नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पूँजी बजार सुधारसँग सम्बन्धित नौ वटा प्राथमिकताका क्षेत्र सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार पूँजी बजारको संस्थागत सुदृढीकरण, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ताको सहभागिता बढाउने तथा नियामकीय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राथमिकता तय गरिएको हो ।

धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्ने बोर्डको योजना छ । बजारलाई प्रभावित पार्ने उद्देश्यले हुने भ्रामक सूचना प्रवाह, अनधिकृत लगानी परामर्श, सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग तथा वित्तीय ठगी नियन्त्रणका लागि निगरानी प्रणाली मजबुत बनाइने जनाएको छ ।

सार्वजनिक निष्कासन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नीतिगत सुधार गरिने बोर्डले जनाएको छ । कम्पनीको वित्तीय अवस्था तथा व्यवस्थापकीय क्षमताको वस्तुनिष्ठ मुल्यांकनपछि मात्र निष्कासन अनुमति दिने व्यवस्था प्रभावकारी बनाइने उल्लेख छ ।

त्यसैगरी, मार्जिन कारोबार प्रणालीलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र व्यवसायीबीच सहकार्य बढाउने योजना बोर्डले अघि सारेको छ ।

बोर्डले सामूहिक लगानी कोषसम्बन्धी लकइन अवधि र धितोपत्र बाँडफाँट व्यवस्थाको पुनरावलोकन गर्ने जनाएको छ । साथै बजार कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्क संरचनाको समीक्षा गरिनेछ ।

कारोबारयोग्य सेयरलाई आधार मानेर नयाँ सूचकांक विकास गरी त्यसलाई बजारको बेन्चमार्क सूचकका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ । हाल कायम नेप्से सूचकांकलाई भने अल इक्विटी इन्डेक्सका रूपमा निरन्तरता दिइने उल्लेख छ ।

यसैगरी, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि संगठित संस्थाले गर्ने पूँजी संकलन गतिविधिलाई नियमनको दायरामा ल्याउने तयारी बोर्डले गरेको छ ।

पूँजी बजार विकाससम्बन्धी मार्गचित्र तथा आगामी आर्थिक वर्षको पूँजी बजार नीति सार्वजनिक गरी त्यसको कार्यान्वयनमा जोड दिइने बोर्डले जनाएको छ ।