काठमाडौं/न्युयोर्क : नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका चर्चित गायक तथा संगीतकार युवराज चौलागाईं अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिल बाट सम्मानित भएका छन्।
नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै काउन्सिलले उनलाई औपचारिक सम्मान प्रदान गरेको हो।
जर्सी सिटी सिटी हलमा आयोजित कार्यक्रममा जर्सी सिटीका मेयरको कार्यालयका विविधता तथा समावेशीकरण सल्लाहकार एवं न्युजर्सी एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर (AAPI) कमिसनकी कमिस्नर डा. विष्णुमाया परियार ले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्।
काउन्सिलम्यान एट लार्ज रोलान्डो लभारो हस्ताक्षरित सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको छ। आधुनिक तथा चलचित्र संगीतमा चार सयभन्दा बढी गीतमा स्वर दिएका उनले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन खेलेको भूमिकाको पनि प्रशंसा गरिएको छ।
सम्मानपत्रमा चौलागाईंलाई सफल गायक मात्र नभई नेपाली सांगीतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न, नयाँ पुस्ताका कलाकारलाई प्रेरित गर्न तथा नेपाली संस्कृति संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ।
यो सम्मान न्युयोर्कबाट प्रकाशित हुने नेपाली सञ्चारमाध्यम ‘नेपयोर्क’ को चौथो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो।
नेपाली सुगम संगीत र चलचित्र पार्श्व गायनमा स्थापित नाम बनेका चौलागाईंका पल भरमै खुसी, हारे हारे, तिमी साथमा हुँदा नि, टुङ्नाको धुनमा, लैजा चरी लगायतका गीत लोकप्रिय छन्। गायनसँगै संगीत सिर्जना, स्टेज प्रस्तुति र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा समेत उनी सक्रिय छन्।
चौलागाईंले यसअघि एनएफडीसी राष्ट्रिय चलचित्र अवार्ड, नेफ्टा अवार्ड, इनास अवार्ड, फान अवार्ड, सगरमाथा म्युजिक अवार्ड, विन्ध्यवासिनी अवार्ड लगायत विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।
जर्सी सिटी काउन्सिलबाट प्राप्त पछिल्लो सम्मानलाई नेपाली संगीतको अन्तर्राष्ट्रिय पहिचानका लागि अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।







