पोखरा -गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको पाँचौं अधिवेशन तथा एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित नेतृत्वले गाउँ पर्यटनलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार बनाउँदै स्थानीय गन्तव्यको प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा तथा सह–कोषाध्यक्षमा शरण गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित भएका छन्।
अधिवेशन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनलाई ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताइन्। स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र समुदायको सक्रिय सहभागितामार्फत गाउँ पर्यटन विस्तार गर्न सके रोजगारी सिर्जना र आर्थिक गतिविधि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा भिटोफ गण्डकीकी निवर्तमान अध्यक्ष शोभा सापकोटाले ‘हरेक गाउँ पर्यटकीय गाउँ’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ संस्था विभिन्न गन्तव्यको प्रवर्द्धन र विकासमा निरन्तर सक्रिय रहेको बताइन्। उनले गाउँ पर्यटनलाई व्यवस्थित र दिगो बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।
संस्थाका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँ र सहरबीच पर्यटनमार्फत सम्बन्ध विस्तार गर्ने उद्देश्यले संस्था स्थापना गरिएको स्मरण गराउँदै गाउँ पर्यटनको विकासले समग्र ग्रामीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटन बोर्ड र भिटोफबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै गाउँ पर्यटन प्रवर्द्धनका लागि पर्यटन मार्ट, तालिम तथा प्रचार–प्रसारका कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, संस्थाका सल्लाहकार तथा बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, होमस्टे समिति पोखरा महानगरका प्रतिनिधिहरू, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले गाउँ पर्यटनको सम्भावना, चुनौती र भावी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए।
अधिवेशनका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै नगद ११ हजार १११ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। साथै संस्थाका आजीवन सदस्यहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
भिटोफ गण्डकीको नयाँ नेतृत्वले आगामी कार्यकालमा गाउँ पर्यटनको ब्रान्डिङ, होमस्टे प्रवर्द्धन, स्थानीय समुदायको सहभागिता वृद्धि तथा पर्यटनसँग सम्बन्धित निकायहरूसँग सहकार्य विस्तार गर्दै प्रदेशका ग्रामीण गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।








