नयाँदिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा ककरोच जनता पार्टी (सिजेपी) को ‘चलो संसद’ मार्चपास कार्यक्रमका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
संसदको मनसुन अधिवेशनको पहिलो दिन आयोजित यो विरोध प्रदर्शनलाई दिल्ली प्रहरीले अनुमति नदिएका कारण नयाँ दिल्लीका अधिकांश क्षेत्रमा धारा १६३ (निषेधाज्ञा) लागू गरिएको थियो। प्रदर्शनका क्रममा भिड अनियन्त्रित बनेपछि प्रहरीले लाठीचार्ज तथा बल प्रयोग गरेको थियो भने घटनास्थलमा कडा सुरक्षा व्यवस्था कायमै राखिएको छ।
यसैबीच, सरकारको आग्रहपछि सिजेपीको एक प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट कुराकानी गरेको छ। सो भेटका क्रममा सिजेपीले सामाजिक अभियानी सोनाम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र नीट परीक्षा विवादका कारण आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई १ करोड रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने तीनवटा प्रमुख मागहरू प्रस्तुत गरेको छ।
प्रदर्शनका दौरान आजाद समाज पार्टीका चन्द्रशेखर आजाद, टिएमसी सांसद महुवा मोइत्रा, अभिनेता प्रकाश राज, अभिनेत्री शबाना आजमी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा कलाकारहरूले ऐक्यबद्धता जनाएका थिए।
उता, स्वास्थ्य बिग्रिएपछि सफदरजंग अस्पतालमा भर्ना गरिएका अभियानी सोनाम वाङचुकले अस्पतालबाटै एक अपिल जारी गर्दै अनसन अन्त्य गर्न तीनवटा नयाँ सर्तहरू अघि सारेका छन्।
उनले शिक्षा व्यवस्थाको असफलताको जिम्मेवारी सरकारले लिनुपर्ने, राजनीतिक दलहरूले संसद्मा यो मुद्दा उठाउने विश्वास दिलाउनुपर्ने र विभिन्न दलका सांसदहरूले अस्पताल आएर भेट्न पर्ने सर्त राखेका छन्। तर, उनका यी नयाँ सर्तहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग उल्लेख नभएको र बल विपक्षको कोर्टमा पुगेको भन्दै केही वरिष्ठ पत्रकार तथा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्।
अर्कोतर्फ, प्रख्यात सामाजिक अभियनी योगेन्द्र यादव र विश्लेषक शरद गुप्ताले भने यो आन्दोलनलाई ऐतिहासिक कोसेढुंगा र वाङचुकका लागि एक सम्मानजनक निकासका रूपमा अर्थ्याएका छन्।








