काठमाडौं – पर्वतारोही निर्मल पूर्जा (निम्स दाइ) को शव ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोबाट सफलतापूर्वक उद्धार गरी आधार शिविर ल्याइएको छ। उनको संस्था ‘इलाइट एक्सपेड’ले यो जानकारी दिएको हो।
ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएका निर्मल पूर्जासँगै अन्य तीन जना आरोहीहरू— झोङ वाङ, निमा शेर्पा र किलू शेर्पाको शव पनि कठिन उद्धार अभियानपछि सुरक्षित रूपमा आधार शिविर ल्याइएको इलाइट एक्सपेडले जानकारी दिएको छ।
संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्तै कठिन र खतरनाक परिस्थितिका बाबजुद यो उद्धार मिशन सम्पन्न गर्न अहोरात्र खटिने मिनिमा शेर्पाको नेतृत्वमा रहेको ग्राउन्ड रिकभरी टोली, सर्बाज खान र जमिनमा खटिएका सम्पूर्ण सदस्यहरूको असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणबिना यो सम्भव थिएन।’
यस कठिन घडीमा सहयोग पुर्याउने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगित-बाल्टिस्तान सरकार, स्थानीय निकायहरू, बेलायती उच्च आयोग, नेपाली दूतावास, पाकिस्तानको अल्पाइन क्लब तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘निम्सलाई घर फर्काउनु भनेको केवल एक पर्वतारोहीको शव ल्याउनु मात्र थिएन; यो एक पति, एक पिता, एक छोरा, एक भाइ, एक मित्र र एलिट एक्सपेड, निम्स दाइ फाउन्डेसनका मुटुलाई घर फर्काउनु थियो।’
संस्थाले निम्ससँगै झोङ, निमा र किलू पनि आफ्ना प्रियजनहरूको काखमा अन्तिम यात्राका लागि फर्किन सक्षम भएकोमा राहत महसुस गरेको उल्लेख गरेको छ।
अहिलेसम्म फेला नपरेका अन्य तीन जना हराइरहेका आरोहीहरूको परिवारप्रति पनि संस्थाले समवेदना प्रकट गरेको छ।








