images
images

को हुन् लगानी बोर्डकी सिइओ बनेकी याङ्की उक्याव?

काठमाडौँ- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।

याङ्कीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिइओमा नियुक्त गरेको हो। उनी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्।

उनको पुर्ख्यौली घर ओलाङचुङगोला हो।

उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी छन्। यससँगै उनले अमेरिकाको युनिभर्सिटी अफ मिजौरीबाट अर्थशास्त्रमा पनि मास्टर्स गरेकी छन्।

यसअघि उनले लगानी बोर्डमै आर्थिक तथा वित्तीय विश्लेषक इकाईको नेतृत्व पनि सम्हालेकी थिइन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। ती तीन जनामध्येबाट मन्त्रिपरिषदले याङ्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सिफारिस समितिले उनीसहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको थियो।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए।