images
images

नाट्टा निर्वाचन : जिस्वा तुलाधरको प्यानल मैदानमा, नयाँ पर्यटन बजारदेखि संस्थागत सुधारसम्मको एजेन्डा

काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनलाई लिएर पर्यटन व्यवसायीबीच चुनावी गतिविधि बढ्दै गएको छ।

अध्यक्ष पदका लागि जिस्वा तुलाधरले आफ्नो नेतृत्वमा प्यानल अघि सारेसँगै नाट्टाको आगामी नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको हो।
तुलाधर नेतृत्वको समूहले पर्यटन व्यवसायीको एकता, संस्थागत सुधार र नेपालको पर्यटनलाई नयाँ बजारसँग जोड्ने विषयलाई अभियानको प्राथमिकतामा राखेको छ। ‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित अघि बढेको समूहले नाट्टालाई व्यवसायीका समस्या समाधानमा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

तुलाधरको नेतृत्वमा अनुभवी व्यवसायीको टिम
अध्यक्षमा जिस्वा तुलाधरसँगै वरिष्ठ उपाध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सह–कोषाध्यक्षमा डा. बिमला दाहाल उम्मेदवार छन्।

कार्यसमिति सदस्यतर्फ त्रिलोचन न्यौपाने, अनु अधिकारी (राउत), सुदर्शन गजुरेल, दिनेश घिमिरे, रोमन सापकोटा, अशोककुमार बनियाँ, जमुना पाण्डे (उपाध्याय) र रोजिना रञ्जितलाई टिममा समेटिएको छ।
विभिन्न पर्यटन व्यवसायमा सक्रिय व्यवसायीलाई एउटै समूहमा समेटेर तुलाधरले चुनावी अभियान अघि बढाएकी छन्।

पर्यटक बढाउने मात्रै होइन, बसाइ र खर्च बढाउने एजेन्डा

तुलाधर समूहले नेपालको पर्यटनलाई परम्परागत पदयात्रा र पर्वतारोहणमा मात्र निर्भर नराखी नयाँ पर्यटन उत्पादन विकास गर्ने योजना अघि सारेको छ।
खेल पर्यटन, वेलनेस, फोटोग्राफी, सांस्कृतिक तथा जीवनशैली पर्यटन, ग्रामीण र सामुदायिक पर्यटनलाई विस्तार गर्दै नेपालमा पर्यटकको बसाइ अवधि बढाउने र उनीहरूले गर्ने खर्च वृद्धि गर्ने वातावरण निर्माणमा समूहको जोड छ।

नयाँ गन्तव्य पहिचान र पर्यटन उत्पादनको विकाससँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको तुलाधर समूहको धारणा छ।

नाट्टालाई डिजिटल र सदस्यकेन्द्रित बनाउने योजना
तुलाधरको अभियानमा पर्यटन प्रवर्द्धनसँगै नाट्टाको आन्तरिक व्यवस्थापन सुधारलाई पनि प्राथमिकता दिइएको छ।
सदस्यका समस्या र जिज्ञासालाई छिटो सम्बोधन गर्ने प्रणाली विकास गर्ने, डिजिटल माध्यमबाट सेवा विस्तार गर्ने तथा नाट्टा सचिवालयलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना समूहले अघि सारेको छ।
ठूला तथा साना पर्यटन व्यवसायीबीच समान अवसर सिर्जना गर्ने, काठमाडौं उपत्यकाबाहिरका सदस्यलाई संस्थाको मूलधारमा जोड्ने र सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।

पर्यटन विकासका लागि छुट्टै स्रोतको प्रस्ताव
तुलाधरले पर्यटन प्रवर्द्धन र गन्तव्य विकासका लागि एकीकृत पर्यटन विकास करको अवधारणासमेत अघि सारेकी छन्।
पर्यटन क्षेत्रबाट सिर्जना हुने स्रोतलाई व्यवस्थित रूपमा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा व्यवसायीको क्षमता अभिवृद्धिमा परिचालन गर्न सकिने उनको धारणा छ। दीर्घकालीन पर्यटन विकासका लागि स्थायी वित्तीय आधार आवश्यक रहेको समूहको जोड छ।

महिला र नयाँ पुस्तालाई नेतृत्वमा जोड
तुलाधर नेतृत्वको प्यानलमा महिला सहभागितालाई पनि प्राथमिकता दिइएको छ। अध्यक्ष पदमा स्वयं तुलाधरका साथै प्रज्ञा पाठक शर्मा, डा. बिमला दाहाल, अनु अधिकारी, जमुना पाण्डे र रोजिना रञ्जितलाई टिममा समेटिएको छ।

पर्यटन व्यवसायमा महिला र नयाँ पुस्ताको सहभागिता बढ्दै गए पनि निर्णय तहमा उनीहरूको भूमिका थप विस्तार गर्नुपर्ने भन्दै नेतृत्व विकास र संस्थागत निर्णय प्रक्रियामा सहभागिता बढाउने विषयलाई प्यानलले आफ्नो एजेन्डामा राखेको छ।

नाट्टाको आगामी निर्वाचनमा जिस्वा तुलाधरको प्यानल मैदानमा आएपछि प्रतिस्पर्धा अब अध्यक्ष पदमा मात्र सीमित नहुने देखिएको छ। पर्यटन व्यवसायीका दैनिक समस्या, संस्थागत सुधार, नयाँ पर्यटन बजारको खोजी र नेतृत्व हस्तान्तरणको विषयसमेत निर्वाचनका प्रमुख मुद्दा बन्ने देखिन्छ।

तुलाधर समूहले भने एकताबद्ध र सदस्यकेन्द्रित नाट्टा निर्माण गर्दै नेपालको पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी र समृद्ध बनाउने लक्ष्यसहित निर्वाचनमा जाने सन्देश दिएको छ।