images
images

थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा

काठमाडौं–नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित १२० साइटमध्ये ९३ वटा सञ्चालनमा आएका छन्।

कम्पनीका अनुसार रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावर सञ्चालनमा आएपछि आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यका लागि सञ्चार सम्पर्क सहज भएको छ। रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटका तुप्चे र बुङताङ बीटीएस पनि सञ्चालनमा आएका छन्। यस्तै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सुचारु भएका छन्।

टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कतिपय स्थानमा हेलिकप्टरमार्फत तथा अन्य सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ।

यसैबीच, फिल्डमा खटिएका प्राविधिकको मनोबल बढाउन तथा सेवा पुनःस्थापनालाई प्रभावकारी बनाउन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) प्रभावित क्षेत्र पुगेकी छन्। उनले यसअघि विपद् व्यवस्थापन कक्षबाट सेवा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएकी थिइन्।