images
images

रास्वपाभित्रको कलह उत्कर्षमा, कुनै पनि बेला रवि–बालेनबीच टकराव हुन सक्छ : वर्षमान पुन

दैलेख — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको दाबी गरेका छन्। उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चर्किँदा राज्यका निकायसमेत विभाजित र कमजोर बनेको आरोप लगाए।

नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा आयोजित नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पुनले राज्यका निकायलाई आफ्नो प्रभावमा पार्ने विषयमा लामिछाने र प्रधानमन्त्री शाहबीच प्रतिस्पर्धा भइरहेको बताए। यस्तो शक्ति संघर्षले राष्ट्रियता कमजोर बनाउनुका साथै राज्यका स्थापित संस्थाहरूलाई अस्तव्यस्त बनाएको उनको भनाइ थियो।

रास्वपाभित्रको विवादले जुनसुकै बेला अप्रत्याशित राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई पक्राउ गर्न सक्ने वा लामिछानेले प्रधानमन्त्रीलाई पदबाट हटाउने अवस्था आउन सक्ने दाबी गरे।

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन,’ पुनले भने।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले वर्तमान सरकार संविधान र राजनीतिक व्यवस्था खारेज गर्ने तथा प्रतिक्रान्तिको दिशामा अघि बढिरहेको आरोप लगाए। यस्तो प्रवृत्तिलाई रोक्न र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्न वामपन्थी शक्तिबीच एकता र संविधान स्वीकार गर्ने लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक रहेको उनले बताए।

एमालेसँग समेत सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले विगतका कमजोरी, गलत प्रवृत्ति र फासिस्ट कार्यशैलीको समीक्षा गरेर साझा मुद्दामा सहकार्य अघि बढाउनुपर्ने धारणा राखे।

‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने तथा संविधान मान्नेहरूबीचको सहकार्य पनि आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ। खराब प्रवृत्ति र फासिस्ट कार्यशैलीबारे समीक्षा गर्दै सहकार्य गर्दै जानुपर्छ,’ उनले भने, ‘देशको स्वाधीनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ।’

सहकार्य र एकताका विषयमा एमालेका नेताहरू पनि पछिल्लो समय उत्साहित देखिएको र विभिन्न भेटघाटमा त्यसको संकेत पाएको पुनले बताए।

उनले जनताले नेकपाबाट सुशासन र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टी वैज्ञानिक समाजवादको लक्ष्यसहित अघि बढिरहेको बताए। वैज्ञानिक समाजवादसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुँजीवादी मुलुकहरूले समेत लोककल्याणकारी राज्य र समाजवादमा आधारित आर्थिक तथा सामाजिक कार्यक्रम अवलम्बन गर्न थालेको उनको दाबी थियो।

विश्वभर क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाउने रणनीति असफल हुँदै गएको उल्लेख गर्दै पुनले कम्युनिस्टहरूले पनि समयअनुसार आफ्ना कार्यक्रम र कार्यशैली परिमार्जन गर्नुपर्ने बताए। जनतामाझ पुगेर प्रतिस्पर्धाबाट निर्वाचित हुँदै समाजवादतर्फ अघि बढ्ने रणनीति कम्युनिस्टहरूले अपनाएको उनको भनाइ थियो।

गणतन्त्र स्थापनापछिको अवधिमा केही उपलब्धि भएन भन्ने आलोचनाको खण्डन गर्दै उनले पछिल्लो ३५ वर्षमा भौतिक पूर्वाधार, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको दाबी गरे।