images
images

विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

काठमाडौँ । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुङ्गिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले आधिकारिकता पाएको छ ।

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुङ्ग्याएको बताएका छन् ।  ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौँ । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्त्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौँ कि हाम्रो गोपनीयताको सम्मान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् ।

इशा पछिल्लो केही समय अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औँ नेशनल अवार्डमा फिचर विधामा स्पेसल मेन्सन अवार्ड पाएको थियो । एजेन्सी