काठमाडौं -नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार ४०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।
तथ्यांकअनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५६.९५ अमेरिकी डलर (४.२६ प्रतिशत) ले घटेर ३,५२७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी पनि प्रतिऔंस ३.१४ अमेरिकी डलर (७.०५ प्रतिशत) ले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ।









