images
images

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय

काठमाडौँ, वैशाख २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताउनुभएको छ ।

बोर्डका अध्यक्षसमेत रहनुभएका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधै सकारात्मक रहेको जानकारी दिनुभयो । बोर्डले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सचिव पाण्डेयले पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न पनि बोर्डलाई निर्देशन दिनुभयो ।

पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमूना भएको उल्लेख गर्दै उहाँले बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो । बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाबिच सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नुपर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैँ साथ सहयोग रहने बताउनुभयो । बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिनुभएको थियो । रासस