images
images

गुरु गोरखनाथ उत्पत्ति दिवस मनाइँदै

काठमाडौँ, १० जेठः गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा पूजा आराधनासहित रोट अर्पण गरिँदैछ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गुरु गोरखनाथको उत्पत्ति भएकाले आज देशभरका गोरखनाथ मन्दिरमा पूजा, आराधना गरी मनाइँदैछ । यसअवसरमा आज पशुपति क्षेत्रको मृगस्थलीस्थित गुरु गोरखनाथ मन्दिरमा यससम्बन्धी चर्चा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । मन्दिरमा गुरु गोरखनाथको पूजा, आराधनासहित रोट अर्पण पनि गरिने छ । रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा पूजा आराधनासहित रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथको पहिलो प्रकटस्थलको सौभाग्य पाएकाले नै नेपाल अक्षुण्ण र स्वतन्त्र रहेको विश्वास गरिन्छ ।

नेपालका शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहनुको आध्यात्मिक कारण यही रहेको विश्वास गरिन्छ । प्राचीन कालमा नेपालीले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर ठूलाठूला युद्ध जितेका र विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंसित भएका उदाहरण पनि इतिहासका पानामा भेटिन्छन् । नेपालको इतिहासका विषयमा खोज अनुसन्धानमा लाग्नुभएका साहित्यकार एवं लेखक हरिप्रसाद सोडारी गुरु गोरखनाथकै आशीर्वादले द्रव्य शाहले गोरखा राज्यलाई एकीकरण गरेको, राम शाहलाई आशीर्वाद दिएर ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्तिलाई चरितार्थ गरेको र पृथ्वीनारायण शाहलाई आशीर्वाद दिएर नेपालको एकीकरण भएको विषय उल्लेखनीय रहेको बताउनुहुन्छ ।

महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूषका पुजिनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर मानिनुहुन्छ । गुरु गोरखनाथले ब्रह्माजीलाइ समेत सृष्टि गर्न सघाउनुभएको धार्मिक विश्वास छ । गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्यो भन्ने मान्यता छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अङ्कित भएको पाइन्छ ।

नेपालीका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलावारीका बाबजुद जय गोरख शब्दसँगै शत्रुलाई खुकुरीले परास्त गर्न सक्षम भए । महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकाले शिव गोरक्षका रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना गरिन्छ । गोरखनाथ चारैयुगमा सशरीर हुनुहुन्छ । अनेक महात्मा योगी राजा आदिलाई समय समयमा मार्गदर्शन गरेको इतिहासका पुस्तकमा पढ्ने पाइन्छ । यस्ता महायोगीबारेमा जान्नु र अरूलाई सुनाउनु सक्नु नै हाम्रो महानता हुनेछ । जय गोरख । जय गुरुदेव । अलख निरञ्जन । जस्ता शब्दले गुरु गोरखनाथालई पुकारिन्छ ।

गोरखनाथलाई प्रत्येक दिन, हप्ता, महिनामा अर्पण गरिन्छ । प्रत्येक वर्षको गोरक्ष पूर्णिमा वा वैशाख शुक्ल पूर्णिमाका दिनमा भने गोरखनाथको उत्पत्ति दिवस भएकाले सवालाख रोट अर्पण गरिन्छ । सवा सङ्ख्या गुरु गोरखनाथलाई मन पर्ने हुनाले नै सवालाख रोट चढाइन्छ । रोट महाप्रसाद हो । सद्गुगुरुदेवको चरणकमलमा अर्पित रोट खान पाउनु मानवजीवनको उच्च सौभाग्य मानिन्छ । महाप्रसाद रोट ग्रहण गर्नाले हुने शारीरिक, मानसिक र आध्यात्मिक फाइदा वर्णनातीत छन् ।

३२ थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि रोटको विशेष महत्व हुन्छ । काजु, किसमिस, छोकडा, नरिवल, ल्वाङ्, सुकुमेल आदि फलादि गुणले युक्त रोट शरीरका लागि स्वास्थ्यवद्र्धक पनि मानिन्छ । यी वस्तुलाई विभिन्न आयुर्वेदिक खुराकमा पनि मिसाइएको पाइन्छ । जडीबुटी लगायतको मिश्रणबाट शुद्ध घ्यू मा तयार हुने रोटको विशेषतालाई शब्दमा भने कैद गर्न सकिन्न । सेवन गरेर नै यसको महत्वलाई बुझ्न सकिन्छ । काठमाडौँमा गुरु गोरखनाथको प्रसिद्ध मन्दिर पशुपति परिसरको मृगस्थलीमा रहेको छ । गुरु गोरखनाथलाई हठ योगका प्रवर्तक मानिन्छ । साथै नाथ पन्थको सुरुआत पनि उहाँबाट नै भएको मानिन्छ ।

यस पन्थबाट अघोर पथजस्ता पन्थ निस्केका छन् । नाथपन्थी साधु नेपालमा प्रशस्त छन् । नेपालमा तन्त्र साधनाको परम्परालाई विस्तार गर्नमा गुरु गोरखनाथको ठूलो योगदान रहेको साहित्यकार सोडारी बताउनुहुन्छ । गुरु गोरखनाथले जसका घरमा गयो त्यही भाषामा तन्त्र साधनाको अभ्यास गराउनुभएको थियो । यो परम्परा अहिले पनि गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्लामा प्रचलनमा रहेको छ । गोरखनाथ सम्प्रदायका योगीले पहिलेदेखि नै कात्तिक र चैतमा गरी वर्षमा दुईपटक फेरि लगाउने परम्परा अहिले पनि छ । जसअनुसार एकपटक फेरी लगाएको सिदा र दक्षिणा राज्यलाई दिने गरिन्थ्यो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यो सिदा र दक्षिणाले पनि भरथेग गरेको इतिहासमा उल्लेख गरिएको उहाँले सुनाउनुभयो ।

यस अवसरमा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित गुरु गोरखनाथ मन्दिर क्षेत्रमा पनि पूजा आराधनाका साथै रोट अर्पण गरिने जनाइएको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित गोरखनाथ पीठमा पनि पूजा, आराधनासहित रोट अर्पण गरिने जनाइएको छ ।