images

निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौंमा सोमबार आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रममा उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्दैन की भनेर शंका नगर्न आग्रह गरे। उनले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्यांकमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने भुक्तानी कति छ ? त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे।

मन्त्री महासेठले रकम भुक्तानी समस्यामा अर्थ मन्त्रालयलाई मात्रै दोष दिन नहुने बताए। ‘यहाँ मैले धेरै सुनेँ, पेमेण्टको बारेमा । नेपाल सरकार जति प्रतिकुल स्थितिमा भएपनि सरकार सरकार हो। एउटा सरकारको लागि १०-२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन’, उनले भने, ‘अहिले हामी सबै दोष दिन्छौँ। अर्थ मन्त्रालयले समयमा भुक्तानी दिएन र रकमान्तर गरिदिएन। अर्थ मन्त्रालय पनि कानूनको भित्र त चल्नुपर्छ। अर्थ मन्त्रालयले पनि चाहेको जतिखेर त गर्न पाउँदैन।’

उपप्रधानमन्त्री महासेठले असार १५ गतेसम्म निर्माण व्यवसायीको बाँकी भुक्तानीको यकिन र सही तथ्यांक मन्त्रालयाई प्रस्तुत गर्न आग्रह गरे।