images

कानुनविपरीत कारोबार गर्ने नौ सय व्यवसायी कारबाहीमा, जरिबाना मात्रै करिब चार करोड

काठमाडौं – चालु आर्थिक वर्षमा मापदण्डविपरीत कारोबार गर्ने ९२९ व्यवसायी कारबाहीमा परेका छन् ।

सरकारले बजार अनुगमनलाई तीव्रता दिन नसक्दा मापदण्डविपरीत कारबोर गर्ने व्यावसायिक फर्म र व्यवसायी बढेका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आवको असार अन्तिम सातासम्म ९ सय २९ व्यवसायीलाई मापदण्डविपरीत कारोबार गरेको भेटिएपछि विभागले कारबाही गरेको हो । उक्त कारबाहीबाट विभागले ३ करोड ६९ लाख रूपैयाँ जरिबाना असुली गरेको छ ।

करिव एक वर्षको अवधिमा विभागले ४ हजार २५५ व्यावसायिक फर्मको अनुगमन गर्दा कानुनविपरीत कारोबार गर्ने ९ सय बढी व्यवसायीलाई कारबाही गरेको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष विभागले ३ हजार ६ सय ९४ व्यवसायी फर्मको अनुगमन गर्दा ७ सय ९८ व्यवसायकि फर्मलाई कारबाही गरेको थियो । कारबाहीबाट विभागले १ करोड ९७ लाख रूपैयाँ जरिबाना असुली गरिएको पनि विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाइएमा कारबाही गर्ने गर्छ । अनुगमनका क्रममा व्यापारीले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाइएमा तत्काल ५ हजारदेखि ३ लाख रूपैयाँसम्मको जरिबाना र तीन महिनादेखि ६ महिना कैद गर्न पाउने अधिकार विभागको निरीक्षण अधिकृतलाई दिइएको छ ।

सोही अधिकार बमोजिम विभागको बजार निरीक्षण अधिकृतले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको फेला पारेमा तत्कालै ५ हजार देखि ३ लाख रूपैयाँसम्म जरिबाना र कारबाही गर्दै आएको छ ।

चालु आवमा विभागले गरेको बजार अनुगमनमध्ये सबैभन्दा धेरै कारबाहीमा पर्नेमा खाद्य वस्तु, रेडिमेट तथा थान कपडा, किराना पसलहरू होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने व्यवसायी छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि व्यवसाय गर्ने व्यवसायीले उपभोक्तालाई देखिने गरी मूल्य सूची र वस्तुको विल बिजक अनिवार्य रूपमा दिनुपर्नेलगायतका कानुनी व्यवस्था छ । तर, व्यवसायीहरूले उक्त विषयको पालन नगरेको अनुगमनबाट देखिएको विभागका सूचना अधिकारी राकेश पाण्डेले बताएका छन् ।

कानुनले व्यवस्था गरेको मापदण्डको परिपालन नगरी व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई कसुरको अवस्था हेरेर कारबाही गर्ने गरेको विभागले जनाएको छ । कारबाहीमा परेकामध्ये २ सय ३४ वटा खाद्य वस्तुसम्बन्धी व्यवसाय गर्ने व्यवसायी छन् । ती व्यवसायीलाई विभागले ८६ लाख १५ हजार रूपैयाँ जरिबाना गरेको छ ।

विभागले १ सय १ वटा कानुनविपरीत कारोबार गर्ने रेडिमेड तथा थान कपडा व्यवसायीलाई कारबाही गरी १९ लाख २२ हजार रूपैयाँ जरिबाना तिराएको छ । यसैगरी, ५३ वटा होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कारबाही गरी ७ लाख १९ हजार जरिबाना गरेको छ ।

अन्य ९० वटा व्यवसायीलाई कारबाही गरी ४१ लाख ३५ हजार रूपैयाँ जरिबाना गरेको हो । विभागले ६२ वटा खाद्यन्न किराना व्यवसायीलाई कारबाही गरी १५ लाख ४५ हजार रूपैयाँ जरिबाना गरेको छ । तरकारी ३२ वटा, तरकारी तथा फुलफूल २६ वटा, हार्डवयर २६ वटा र मार्ट/मिनि मार्ट चलाउने २८ व्यवसायीलाई विभागले कारबाही गरेको हो । विभागले ८४ वटा व्यवसायी फर्मबाट १ करोड ५९ लाख रूपैयाँबराबरको वस्तु नष्ट गरेको छ ।