images
images

पसिना बगाउन गएका नेपाली श्रमिक बन्दुक बोक्न गएका झैं मर्नुकाे कारणकाे खोजीनिति जरुरीः श्रममन्त्री भण्डारी

काठमाडौं, ३ पुस – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिक डेथ ट्र्याप (मृत्युको पासो) र डेव्ट ट्र्याप (ऋणको पासो) मा परिरहेको भन्दै यसबाट उनीहरुलाई बचाउनु जरुरी रहेको बताएका छन् । वितेका १६ बर्षमा १४ हजार भन्दा धेरै नेपाली श्रमिकले गन्तव्य मुलुकमा ज्यान गुमाएको भन्दै यसको कारण खोजिनु पर्ने बताए ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२४ को अवसरमा आयोजना गरेको अन्तरकृयामा बोल्दै मन्त्री भण्डारीले पसिना बगाउन गएकाहरु बन्दुक बोक्न गएकाहरु झैं किन मरिरहेका छन् भनेर खोजीनिति हुनुपर्ने बताए । उनले हड्डी घोटेर बढीमा मासिक ५० हजार कमाउने श्रमिक अर्कोतर्फ धेरै लगानी गरेर जानु पर्दा ऋणको पासोमा पनि परिरहेको उल्लेख गरे ।

उनले फ्रिभिसा फ्रिटिकटको नारा के व्यवहारमा कार्यान्वयन भइरहेको छ त भन्दै त्यसमा के गर्ने भनेर सुझाव दिन आग्रह गरे । वैदेशिक रोजगार व्यवसायीहरुले एकजना श्रमिक पठाउन १ लाख ४० हजार खर्च हुने विवरण देखाएको भन्दै मन्त्री भण्डारीले हाल २ देखि ३ लाखसम्म तिरेर श्रमिकहरु रोजगारीका लागि खाडीका मुलुकहरु र मलेसिया जान बाध्य रहेको बताए । उनले व्यापार व्यवसाय च्यारिटी होइन भन्दै तर नाफा कति लिने भन्ने तोकिनु पर्ने बताए ।

मन्त्री भण्डारीले न्यायोचित हुनुपर्ने दायित्व रोजगारदाताको मात्र नभएको भन्दै नेपालका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुबीचमा नै अस्वस्थ प्रतिस्पर्धा रहेको बताए । उनले धेरै रकम तिरेर डिमाण्ड खरिद गर्ने गरिएको आफूले सुनेको भन्दै त्यो गलत काम भएको बताए । उनले पछिल्ला महिनाहरुमा संस्थागत (वैदेशिक रोजगार व्यवसायी) मार्फत विदेश जाने भन्दा पनि व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या किन बढिरहेको छ भन्ने प्रश्न गर्दै यसले शैक्षिक परामर्श दिने भनेर खोलिएका संस्थाहरुको संलग्नता स्पष्ट हुने धारणा राखे । उनले कतिपय वैदेशिक रोजगार व्यवसायी संस्थाहरुकै त्यस्ता परामर्श दिने संस्थाहरु रहेको भन्ने सुनेको भन्दै त्यस्तो गलत काम कसैले गरेको भएमा त्यो कानुन अनुसार क्षम्य नहुने बताए ।

उनले आफ्नो ध्यान वैदेशिक रोजगार सम्वन्धी सुचना स्थानीय तहसम्म पुर्याउनेमा केन्द्रीत रहेको भन्दै पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई परिचालन गरिने जानकारी गराए । यसले हाल देखिएको दलालको समस्या न्यूनिकरण हुने उनको भनाई थियो ।

यस अगाडी श्रम आप्रवासनका विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारलाई न्यायोचित बनाउन सरकार र व्यवसायीका संस्थाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा प्रस्तुती गरेका थिए । यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष डीबि खत्रीले संघले गर्दै आएका कामहरु, व्यवसायीका माग लगायतका विषयमा जानकारी गराएका थिए ।