
काठमाडौं, ५ बैशाख – पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखा ।
एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ ।
शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा पुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए ।
उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । यहाँ स्थापना गरिएको विशाल भगवान शिवको मूर्ति अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँबाट देखिने पोखरा सहर, फेवाताल, माछापुच्छ्रे हिमश्रृङ्खलाले पनि यहाँ आउने जो कोहीलाई मोहित पार्ने गरेको छ ।