काठमाडौँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन्। इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन्।
इस्लामाबादमा भएको २१ घण्टे वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि ट्रम्पले यस्तो चेतावनी दिएका बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत विश्वकै शक्तिशाली अमेरिकी नौसेनाले होर्मुज बन्द गर्ने प्रक्रिया अघि बढाउन सक्ने उल्लेख गरेका छन्। सबै जहाजलाई समान रूपमा आवतजावत गर्न नदिइए अमेरिकाले कडा कदम चाल्ने चेतावनी पनि उनले दिएका छन्।
होर्मुज क्षेत्रमा इरानको अवरोधका कारण मध्यपूर्वको कच्चा तेलमा निर्भर देशहरूको अर्थतन्त्र प्रभावित भएको बताइएको छ। हाल प्राविधिक रूपमा होर्मुज पूर्ण रूपमा बन्द नभए पनि इरानले शुल्क तिर्ने जहाजलाई मात्रै पार गर्न दिएको जनाइएको छ।
उक्त समुद्री मार्गबाट इरानले आफ्नै तेल निर्यात जारी राखेको उल्लेख गरिएको छ। तथ्यांकअनुसार युद्धको अवधिमा इरानले उल्लेखनीय परिमाणमा तेल निर्यात गरिरहेको जनाइएको छ। होर्मुज मार्गबाट इरानले बढी लाभ लिइरहेको निष्कर्षसहित अमेरिकाले कडा नीति अपनाउन सक्ने संकेत दिएको बताइएको छ।
यदि होर्मुज पूर्ण रूपमा बन्द गरिएमा इरानसहित विश्वभर नै तेल आपूर्तिमा गम्भीर असर पर्ने तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।
अमेरिकाले यसअघि इरानी तेलमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ। परमाणु सम्झौतामा सहमति नजुटेपछि सन् २०१८ देखि इरानको कच्चा तेल बिक्रीमा कडा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय केही प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि इरानले तेल बिक्रीबाट आर्थिक लाभ लिएको अमेरिकी पक्षको बुझाइ छ।
युद्धका कारण इन्धनको मूल्यवृद्धि भएसँगै त्यसको असर विश्व बजारमा देखिएको छ। तेलको मूल्य नियन्त्रण तथा इरानमाथि थप दबाब सिर्जना गर्न अमेरिकाले विभिन्न रणनीतिक विकल्पहरू अपनाउने तयारी गरेको बताइएको छ।









