काठमाडौँ – प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताए।
उनले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफनो सम्पत्तिको आयस्रोत भने मात्रै वर्तमान सरकारले सुशासनको क्षेत्रमा केही काम गर्न सक्ने कुराको विश्वास आमजनतालाई हुने बताए।
सांसद कर्णले आफ्नो पार्टीले २०४६ सालयता सार्वजनिक पदधारणा गरेका नेता, कर्मचारी, व्यवसायीलगायतका सबैको सम्पत्ति छानबिन गर्न पनि सरकारलाई दबाब दिए।
एमाले सांसद सोमनाथ पोर्तेलले सरकारको आवाज फेसबुक र पत्रपत्रिकाबाट मात्रै सुन्नुपर्ने विडम्बनापूर्ण अवस्था आएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। सांसद पोर्तेलले सरकारले संविधान र कानुनको ठाडो उलंघन गरिरहेको आरोपसमेत लगाए।








