काठमाडौँ– काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्काली आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
बिहीबार अख्तियार दूरूपयोग अनुसन्धान आयोगले उनीसहित उनकी श्रीमती मिनादेखि तिवारी र छोरी मिरा तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
भाइकाजीले २०४४ सालमा प्राधिकरणमा जागिर सुरु गरेका थिए। उनको अवकास २०७८ सालमा भएको थियो। यस अवधिमा उनको परिवारको विभिन्न शिर्षकमा कमाई १४ करोड ५१ लाख ९१ हजार तीन सय ५६ रुपैयाँ पच्चीस पैसा देखिन्छ।
तर आयोगको अनुसन्धानमा उनीहरू कमाई २५ करोड छ लाख ८७ हजार दुई सय २७ रूपैयाँ चौसठ्ठी पैसा देखिएको छ। कमाई र खर्चमा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँको फरक देखिएपछि उनीहरूविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानकाेअनुसार भाइकाजीले अस्वभाविकरुपमा शेयर खरिद, हिराको हार खरिद, बहालकर भुक्तानी, छोरीको नाममा घर खरिद, विभिन्न व्यक्तिहरुलाई बैङ्क खाताको चेक भुक्तानी गरेको देखिएको छ।








