images
images

रास्वपाले टुङ्ग्यायो १२ संसदीय समिति सभापतिका उम्मेदवारहरू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापति चयनका लागि आफ्ना उम्मेदवारहरूको नाम फाइनल गरेको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका उम्मेदवारहरूको नाम टुङ्ग्याएको हो ।

रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

त्यस्तै, महिला तथा सामाजिक मामला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनले रास्वपाको तर्फबाट सभापतिमा उम्मेदवारी दिनेछन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीलाई अघि सारिएको छ।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय छ ।

रास्वपाले संसदीय परम्पराको सम्मान गर्दै सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई नै दिने नीति लिएको छ । सोही अनुसार उक्त समितिमा रास्वपाले आफ्नो उम्मेदवार खडा नगर्ने भएको हो ।

संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुँदैछ । आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।