काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिएका छन्।
शेरबहादुर देउवा पक्षले पार्टी सदस्यता अध्यावधिक नगर्ने अडान लिइरहेकाबेला उनले यस्तो चेतावनी दिएका हुन्। मंगलबार काठमाडौँ वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर आफ्नो क्रियाशील सदस्यताको अध्यावधिक गर्दै उनले सबैलाई पार्टी सदस्यता अध्यावधिक गर्न आग्रह गरे।
उनले पार्टी सदस्यता अध्यावधिक गर्ने काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए। ‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ। यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिष्टर्व नगरिदिनु होला। कसैले म कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न। पार्टीको विधानले यही भन्छ’, थापाले भने।
कांग्रेसले विशेष कारणबश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ।









