images
images

नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३को नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ।

चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो। यसमध्ये चैतसम्ममा सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थमन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शिर्षकमा बजेट खर्च भएको छ। चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरूका लागि गरिने खर्च हो। यो खर्चले नयाँ सम्पती सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन। सामान्यतया यो कुल बजेटको ५८–६२% सम्म पुग्ने गर्छ।

चालु शिर्षकमा सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएकोमा समीक्षा अवधिसम्ममा सरकारले ७ खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ।

पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन। पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ। यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन। खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले इन्धनको अभाव झेलिररहेका छन्। जसको असर पुँजीगत खर्चमा देखिएको छ।

पुँजीगततर्फ चालु आवमा खर्च गर्न सरकारले ४ खर्ब ७ अर्ब छुट्टाएकोमा ९६ अर्ब १९ करोड खर्च भएको छ। यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ। यो शिर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज तिर्ने गरेको छ।

यो शिर्षकमा खासगरी सरकारले ३ खर्ब ७५ अर्ब छुट्टाएको थियो। जसमध्ये २ खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ।

सरकारले चालु आवको चैत मसान्तसम्म ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ। राजस्वबाट मात्रै सरकारले ८ अर्ब ८६ करोड संकलन गरेको छ।