images
images

काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा, यस्तो छ रुट

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा रात्रिकालीन बस सञ्चालन गर्न लागिएको साझा यातायातले जनाएको छ।

साझा यातायातका अनुसार पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि सिनामंगल, तीनकुने, बानेश्वर, माइतीघर, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालीमाटी र कलंकी हुँदै थानकोटसम्म बस सञ्चालन गरिने छ। फर्किँदा थानकोटबाट कलंकी, कालीमाटी, त्रिपुरेश्वर, एनएसी, जमल, बानेश्वर हुँदै एयरपोर्टसम्म पुग्नेछ।

यस्तै, उत्तर-दक्षिण रुटमा ३ वटा बसले बुढानीलकण्ठदेखि बाँसबारी, महाराजगञ्ज, लाजिम्पाट, जमल, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल र कुमारीपाटी हुँदै लगनखेलसम्मको यात्रा तय गर्नेछन्।

यस सेवाका लागि साझा यातायातले ७ विद्युतीय बस प्रयोग सञ्चालन गर्नेछ। बस सेवा काठमाडौँ महानगरपालिकालगायत ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहयोग र सहकार्यमा सञ्चालन हुँदै छ।

साझा यातायातका अनुसार यात्रुहरूको सुरक्षाका लागि बसमा सीसीटीभी क्यामेरा जडान गरी साझा यातायातको केन्द्रीय कन्ट्रोल रूमबाट प्रत्यक्ष निगरानी गरिनेछ भने सहकार्य गर्ने निकायहरूद्वारा नगर प्रहरीको उपस्थितिको पनि व्यवस्था गरिएको छ।

यात्रुहरूले ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको वास्तविक अवस्थितिको जानकारी लिई आफ्नो यात्रा समय र प्रतीक्षा गर्ने समयलाई व्यवस्थित गर्न सक्नेछन्।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले आगामी दिनमा यात्रुको चाप हेरेर सेवा विस्तार गर्दै लैजाने बताए।

उनी भन्छन्, ‘बसभित्र यात्रुको जानकारीका लागि प्यासेन्जर इन्फर्मेसन सिस्टम र निःशुल्क वाइफाइको व्यवस्थासमेत गरिएको छ। यो सेवालाई प्रारम्भिक चरणको रूपमा लिँदै आगामी दिनमा यात्रुको चाप र अन्य नगरपालिकाहरूसँगको समन्वयमा सेवालाई थप विस्तार गर्दै लैजाने साझा यातायातको लक्ष्य रहेको छ।’