images
images

नबिल बैंकद्वारा नयाँ भिजन, मिसन र मूल्यमान्यता सार्वजनिक

काठमाडौं- नबिल बैंक लिमिटेडले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विगत चार दशकदेखि अनुसरण गर्दै आएको आफ्नो भिजन (परिकल्पना), मिसन (लक्ष्य) र मूल्यमान्यतालाई पुन: परिभाषित गर्दै नयाँ प्रतिबद्धता जाहेर गरेको छ 

बैंकले यस परिमार्जित उद्देश्यमार्फत भरोसा, उत्थानशीलता र तत्परताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ 

नबिल बैंकले ‘नेपालको सबैभन्दा भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ आफ्नो नयाँ भिजन सार्वजनिक गरेको छ । यसैगरी, बैंकको नयाँ परिभाषित मिसनमा ‘भविष्यका लागि तयार नेतृत्व निर्माण गर्दै, नवीनताद्वारा सञ्चालित, सुशासन र ESG (वातावरणीय, सामाजिक र सुशासन) उत्तरदायित्वद्वारा निर्देशित रही, ग्राहकलाई पहिलो प्राथमिकता दिने उत्कृष्ट सेवा प्रदान गर्ने विश्वस्तरीय नेपाली बैंक बन्ने’ लक्ष्य राखिएको छ 

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकिङ वातावरणमा तीव्र परिवर्तन भइरहेको समयमा यो पुन: परिभाषा आएको बताए । उनले भने, “ग्राहक-केन्द्रित र विश्वस्तरीय नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको मिसन, लक्ष्य र मूल्यमान्यतालाई पुन: परिभाषित गरेका छौं ।” उनका अनुसार परिमार्जित रूपरेखाले सेवाको उत्कृष्टता, डिजिटल संलग्नता, नेतृत्व विकासमा निरन्तर लगानी र जवाफदेहिताको संस्कृतिमा जोड दिएको छ 

बैंकले आफ्नो मूल मूल्यमान्यतालाई ‘पाँच टी’ (५टी) – ट्रस्ट (भरोसा), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफर्मेसन (रूपान्तरण) मार्फत प्रस्तुत गरेको छ । यी मूल्यहरू पञ्चतत्व दर्शनमा आधारित छन्, जहाँ पृथ्वीले भरोसा, जलले पारदर्शिता, अग्निले प्रतिभा, वायुले प्रविधि र आकाशले परिवर्तनलाई प्रतिनिधित्व गर्दछन् 

परिवर्तित ग्राहक अपेक्षाहरू, दिगोपनामा बढ्दो ध्यान, र डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकालाई मध्यनजर गर्दै बैंकले आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता महसुस गरेको हो । यसै क्रममा बैंकले आफ्नो ट्यागलाइन पनि परिवर्तन गरी ‘टुगेदर अहेड अलवेज’ (Together ahead always) राखेको छ, जसको मुख्य उद्देश्य सबै पुस्ताका लागि गुणस्तरीय बैंकिङ सेवाको आवश्यकतालाई समेट्नु हो 

नेपाली बैंकिङ क्षेत्रको अग्रणी बैंक नबिल बैंकले हाल देशभर २६८ शाखा र ३१८ एटीएम नेटवर्कमार्फत नवीन र ग्राहकमुखी वित्तीय समाधानहरू प्रदान गर्दै आएको छ