काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल आफूले पाएका अधिकांश विवाह निमन्त्रणापत्रमा दाइजोमुक्त विवाहबारे कुनै उल्लेख नदेखिएको बताएकी छन्।
यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ।
उपसभामुख ठाकुरले दाइजो लिनु-दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गरेकी छन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने उनले जोड दिइन्।
उनले सामाजिक परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै सुरुवात आवश्यक रहेको बताउँदै दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन नसक्ने स्पष्ट पारेकी छन्।
त्यसैगरी, उनले विवाह निमन्त्रणापत्रमै ‘दाइजो मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न आग्रह गर्दै सबैलाई दाइजोमुक्त, समानतामूलक र सुसंस्कृत विवाह अभ्यास गर्न आह्वान गरेकी छन्।







