काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाको भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ । केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन्। बैठकमा करिब २० जना बोल्ने तय भएको छ। उनीहरूलाई २ मिनेट समय दिइएको छ। भोलिको बैठकले केन्द्रीय समिति पदाधिकारी मनोनयन गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए।
भोलिकै बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वानबारे पनि छलफल हुनेछ। यसैगरी प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने व्यवस्थाबारे पनि छलफल हुनेछ। त्यसको कानुनी प्रबन्धबारे छलफल हुने उनको भनाइ छ।
सचिवालयका निर्णय अनुमोद गर्ने, विविध कार्यसूचीअन्तर्गत विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचारबारे छलफल हुनेछ। विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे पनि छलफल हुनेछ।







